दफा
नियमित, नियन्त्रण वा निषेध गर्न सक्ने

९.१ समितिले समय समयमा स्पष्ट रूपले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी नगर योजना क्षेत्रभित्र देहायका काम कुराहरू आवश्यकता अनुसार नियमित, नियन्त्रण वा निषेध गर्न सक्नेछ र त्यसरी नियमित, नियन्त्रण वा निषेध गरिएका काम कुराहरू समितिको पूर्व स्वीकृति विना कसैले गर्न गराउन हुँदैन :–
९.१.१ कृषि, प्राकृतिक सम्पदा, वनस्पति, वन जङ्गल, जीवजन्तु, पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थलहरू र आवादी तथा पर्ति जग्गाहरू एवं अचल सम्पत्तिको उपभोग र प्रयोग गर्न,
९.१.२ कुनै प्रकारको भवन, कार्यालय वा अन्य कुराहरूको नयाँ निर्माण गर्न वा निर्माण भैसकेका त्यस्ता कुराहरूको विस्तार गर्न,
९.१.३ कुनै प्रकारको बस्ती, बसोबास वा आवास बनाउन वा बसाउन र मनोरञ्जन, बजार, हाट, उद्योग आदि स्थलहरू बसाल्न वा बनाउन,
९.१.४ प्राकृतिक सौन्दर्य पर्यटनस्थल र जनसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा कुनै प्रकारले वातावरण दुषित हुने काम गर्न,
९.१.५ बाटो घाटो, पुल र त्यसमा प्रयोग हुने यातायातको साधन, वृक्षरोपण, पानी, बत्ती, आदि प्रयोग गर्न ।
९.२ उपदफा ९.१ को प्रयोजनकोलागि समितिले स्वीकृति दिदा आंशिक वा पूर्ण रूपले स्वीकृति दिन वा नदिन वा स्वीकृति दिंदा आवश्यक निर्देशन वा शर्त वा मापदण्ड समेत तोकिदिन सक्नेछ ।
९.३ नगर योजना क्षेत्रभित्रको कुनै अचल सम्पत्तिको तथ्यांक लिन वा सर्भे गर्नको लागि कुनै घर वा जग्गामा प्रवेश गर्न वा सम्बन्धित व्यक्तिलाई बुझ्न समिति वा समितिले खटाएको व्यक्तिलाई पूर्ण अधिकार हुनेछ ।